टिकटकमा झुम्मिदै नायिकाहरु, चर्चा संगै फ्यान बीच पपुलर

लकडाउनका कारण नेपाली चलचित्रका कलाकारहरूको हकमा अभिनयको तलतल मेटाउन सहयोग गरेको छ, टिकटकले । विश्वव्यापीरुपमा लोकप्रियता कमाएको यो चिनियाँ एपमा नेपालका नायिकाहरू मज्जाले रमाइरहेका छन् । चलचित्र र म्युजिक भिडियोमा पोख्न नपाएको अभिनय उनीहरू टिकटकमा पोखिरहेका छन् । लकडाउनमा त झन् उनीहरूका लागि समय बिताउने माध्यम पनि बनेको छ टिकटक।

त्यसो त लकडाउनभन्दा अगाडि पनि थुप्रै नेपाली नायिकाहरू टिकटकमा सक्रिय नै थिए । १५ सेकेन्डको भिडियोमा लिपसिङ गरेर नायिकाहरूले आफूलाई सस्तो बनाएको टिप्पणी हुने गरेको पहिल्यैदेखि हो । तर, के फरक पर्छ उनीहरूलाई ? टिकटकमा वाहवाही गर्नेहरूको कमी हुँछैन । फलोअर्सको कमी हुँदैन ।

टिकटकप्रेमी नायिका

चल्तीका अधिकांश नेपाली नायिकाहरूलाई टिकटकमा नियमित देख्न सकिन्छ । यसमा सुरुदेखि सक्रिय र राम्रो फलोअर्स कमाएकी नायिका वर्षा राउत हुन् । चलचित्रमा व्यस्त हुँदाहुँदा पनि उनी नियमित टिकटक भिडियो बनाउन समय निकाल्थिन् । अहिले त झन् समय नै समय छ ।

टिकटकमा अहिलेसम्म दुई सय २९ भिडियो पोस्ट गरेकी वर्षाका आठ लाख ४३ हजार ६ सय फलोअर्स छन् । यसैगरी उनले कुल मिलाएर १ करोडभन्दा बढी लाइक्स प्राप्त गरेकी छिन् । उनी ट्रेन्डिङमा रहेका गीत र डाइलगहरूमा अभिनय गर्छिन् ।

अर्की चर्चित नायिका आँचल शर्मा पनि टिकटककी सक्रिय युजर हुन् । दुई वर्षदेखि टिकटकमा देखिँदै आएकी उनका फलोअर्स पाँच लाख ८४ हजार जना छन् । आँचललाई टिकटकले निकै फाइदा पनि भएको छ । उनले म्युजिक भिडियो खेलेका धेरै गीत टिकटकबाट हिट भएका छन् ।

चलचित्रमा खासै चम्किन नसकिरहेकी नायिका नीता ढुंगाना टिकटकमा भने निकै चम्केकी छन् । उनको अभिनय र डान्स दुवै लोभलाग्दो हुन्छ । टिकटकमा दुई लाखभन्दा बढी फलोअर्स कमाएकी नीताले अहिलेसम्म ५ सय १७ वटा भिडियो पोस्ट गर्न भ्याएकी छन् ।

पहिले टिकटकमा खासै नदेखिने पूजा शर्मा पनि आजकल धेरै भिडियोहरू बनाउँछिन् । उनको टिकटकमा दुई लाख ६८ हजार फलोअर्स छन् भने अहिलेसम्म ८० भिडियो पोस्ट गरेकी छिन् ।

टिकटकमा बेलाबखत देखिने गरेका नायिकाहरूमा केकी अधिकारी, प्रियंका कार्की, श्वेता खड्का, शिल्पा पोखरेल, सुष्मा कार्कीलगायत छन् । पछिल्लो समय सुष्मा कार्की र पूजा शर्माबीचको टकरावले टिकटकमा राम्रै स्थान पाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *