समाज लघुवित्त र रिलायन्स लाइफ इन्स्याेरेन्सको आईपीओ भदौ ४ गते देखि आउदै

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि भदौ ४ गतेदेखि नै आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ। लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।

लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ८ गते हुनेछ भने ढिलोमा भदौ १८ गते हुनेछ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

त्यसै गरि, रिलायन्स लाइफ इन्स्याेरेन्सले भदौ ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ। इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न साउन २८ गते बुधबार आह्वान पत्र प्रकाशित गरेको छ।

इन्स्योरेन्सले प्रतिशेयर १०० अंकित मूल्यका ६३ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र अर्को ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ५६ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सर्वसाधारणले यस आईपीओ भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा सम्पूर्ण शेयरको लागि आवेदन नपरेमा निष्काशन अवधि भदौ २२ गतेसम्म लम्बिने इन्स्योरेन्सले जनाएको छ।

इच्छुक लगानीकर्ताहरु न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। इन्स्योरेन्सले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ्ग दिएको छ। यसले इन्स्योरेन्सको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *